असारमा बैंकहरुको निक्षेपको ब्याजदर स्थिर

काठमाडौं । वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर स्थिर राखेका छन्। वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने स्थर राखेर ब्याजदर सार्वजनिक गरेका हुन्।

वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारिएको थियो । बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।

सोही ब्याजददरलाई वाणिज्य बैंकहरुले जेठमा पनि कायमै राखेका थिए। अब असारमा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

त्यसैगरी, विकास बैंक र फाइनान्स कम्पनीले पनि असारमा निक्षेपको ब्याजदर स्थिर नै राखेका छन् । जसअनुसार विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याजदर नै कायम गरेका छन्। जेठमा पनि यही ब्याजदर कायम गरिएको थियो।

यसैगरी अधिकांश फाइनान्स कम्पनीले जेठकै ब्याजदरलाई असारमा नियन्तरता दिएका छन्। जेठमा फाइनान्स कम्पनीहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ९.२५ प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा ११.२५ प्रतिशत ब्याज दिँदै आएका छन्। अब यही ब्याजदरले असारमा पनि निरन्तरता पाउनेछ।

कर्जाको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत असार मसान्तसम्म १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *