माडी नगरपालिकामा हुँदै नभएको वडाका लागि बजेट विनियोजन

चितवन । चितवनकाे माडी नगरपालिकामा हुँदै नभएकाे वडा ताेकेर बजेट विनियाेजन गरिएकाे पाईएको छ । माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । तर सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई पनि बजेट विनियोजन गरेको छ ।

माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले भनिन्, “माडीमा वडा नं १० छँदै छैन तर रु १० लाख बजेट वडा नं १० भनेर छुट्टयाइएको छ ।” कार्यक्रम नै तोकेर बजेट विनियोजन गरिएको उनले बताइन् ।

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ । स्यालोट्युवेल जडानका लागि रकम विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन सङ्घीय सरकारलाई सिफारिस गरेको छ । सङ्घीय सरकारले निर्णय गरेको भने छैन । उनले भने, “वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो ।” अब यो बजेटलाई के गर्ने भन्ने विषयमा सङ्घीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *