मौद्रिक नीतिको समीक्षा : लगानीकर्ता भन्छन्,- ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । आफुले गरेको लगानी डुब्दा लगानीकर्ताहरुमा नैराश्यता छाएको छ । शुभ समाचारको पर्खाइमा रहेका लगानीकर्ताहरुले आफ्नो मनोबल बढाउन सकेका छैनन् ।

राजनीतिक खिचातानीले बढेको अस्थिरता, आर्थीक मन्दी र अर्थतन्त्रमा देखिएको संकट, स्थिर वित्तीय नीति नहुनु लगायत कारण लगानीकर्ताहरु  लगानी गर्न डराइरहेका छन् । उनीहरुले आफ्नो मनोबल बढाउन सकेका छैनन् ।

सेयर बजार यस्तो ठाउँ हो जसलाई स-साना कुराहरुले समेत ठुलो प्रभाव परिरहेको हुन्छ । हल्लाले समेत प्रभावित हुने बजारमा बढ्दो अस्थिरताले गर्दा झनै चुनौती थपिदिएको छ ।

२०७८ भदौ ३ गते ३,१९९ को बिन्दु पुगेर अलटाइम हाइ रेकर्ड कायम गरेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हाल १८०० सय हाराहारीको बिन्दुमा हिडिरहेको छ । आज (बैशाख ३१ गते) सेयर बजार १८२१. ६४ बिन्दुमा खुम्चिएको छ ।

नेप्से परिसूचक मात्र होइन कारोबार रकम समेत २२ अर्ब रुपैयाँमा पुगेर नयाँ कीर्तिमानी बजारले राखेको थियो भने बजार पुँजीकरण ४४ खर्बसम्म पुगेको थियो । करिब २२ महिनाको अवधिमा सेयर  बजार ३३ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकम ९० अर्ब हाराहारी मात्र छ भने पुँजीकरण ३५ खर ४३ अर्बमा सीमित छ । नियामक निकायले स्थिर नीति चाल्न नसक्दा लगानीकर्ताको खर्बौ सम्पति गुमाएका छन् । बजार घट्दा लगानीकर्ताहरु पोर्टफोलियो हेर्ने डराउने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घटेको बजार उकास्न प्रोत्साहन गरेर लगानीकर्ताको घाऊमा केही मलम लगाउँछ भन्ने अपेक्षामा थिए लगानीकर्ता । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा त गर्यो तर सेयर बजारलाई छुँदै छोएन । थोरै भएपछि राहत मिल्छ कि भन्ने अपेक्षाले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कुरिरहेका लगानीकर्तालाई सो समीक्षा कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ भएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितोकर्जामा कायम १२ करोड रुपैयाँको सीमालाई हटाउनुपर्ने र जोखिमभर १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत्तमा सीमित गर्नुपर्ने लगायत माग लगानीकर्ताको थियो । तर उक्त बुँदालाई राष्ट्र बैंकले छोएन । यी २ मध्ये एउटा माग पूरा हुन्छ भन्ने अपेक्षा लगानीकर्ताको थियो । उक्त बुँदामा राष्ट्र बैंक लचिलो नबन्दा लगानीकर्ताहरु असन्तुष्ट बनेका हुन् ।

यद्यपि, केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक दर घटाउने नीति लिएको छ ।  समीक्षमार्फत बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरिएको छ । जसका कारण अब ब्याजदर पनि घट्दै जानेछ । जसले सेयर बजारलाई पनि ठूलो राहत दिने अपेक्षा लगानीकर्ताको छ । बजारले तत्काल नकारात्मक प्रतिक्रिया दिएपनि ब्याजदर घट्ने भएकाले सेयर बजारमा पनि क्रमशः सकारात्मक प्रभाव पर्ने विश्लेषण लगानीकर्ताको छ ।

के भन्छन् लगानीकर्ता ?

हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुलाई मौद्रिक नीतिको समीक्षालाई कसरी लिनुभएको छ ? सेयर बजार निरन्तर घट्नुको कारण के हो ? लगानीकर्ताको मनोबल उच्च बनाउन नियामक निकायले कस्तो भूमिका खेल्नुपर्ला ? लगायत प्रश्न राखेका छौं ।

उनीहरुले मौद्रिक नीतिले सेयर बजारलाई सम्बोधन गर्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएका छन् । नीतिगत भ्रष्ट्राचार हुनु, राष्ट्र बैंक र अर्थमन्त्रालयबीच टसल हुनु, बैंकिङ क्षेत्रमा चारैतिरबाट आक्रमण हुनु, वित्तीय स्थायित्व नहुनु, राजनीतिक अस्थिरता र दलहरु सत्ताकेन्द्रित हुनु लगायत कारण लगानीकर्ताको मनोबल गिरेको बताएका छन् ।

यसको अलावा अर्थतन्त्र संकटउन्मुख हुनु र आर्थिक मन्दीको कारण पनि सेयर बजार सुस्ताउन पुगेको लगानीकर्ताहरुको भनाइ छ ।

पुँजीबजार अर्थतन्त्रको खम्बा भएपनि राज्यले सेयर बजारलाई उपेक्षा गरेको लगानीकर्ताहरुको गुनासो छ । केन्दीय बैंकले एमाले सरकार हुँदा नीति खुकुलो बनाउने तर अन्य पार्टी सरकारमा हुँदा नीति कसिलो बनाउने गरेको कारण पनि सेयर बजार घटेको लगानीकर्ताहरु बताउँछन् ।

लगानीको वातावरण नबन्दा लगानीकर्ताको मनोबल खस्किए पनि सेयर बजारको भविष्य सुनौलो रहेको र फेरी पनि इतिहास रच्नेमा भने लगानीकर्ताहरु विश्वस्त छन् ।

भिडियो पनि

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *