मिटर ब्याजीविरुद्ध चितवनमा १६ ओटा उजुरी

चितवनमा मिटर ब्याजीविरुद्ध १६ ओटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय, चितवनमा उक्त संख्यामा उजुरी परेका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेको जानकारी दिए ।

मिटरब्याजीले निरक्षर, गरीब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणले सयौं परिवार बिचल्ली भएको भन्दै उजुरी लिन स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । प्रशासनमा परेका उजुरीका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने र छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिश गरिने उनले जानकारी दिए । उनका अनुसार दोषी पाइएका मिटरब्याजीलाई बैंकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चलाइनेछ । पछिल्लो समय बैंकमा तरलता अभाव भएसँगै मिटरब्याज धन्दाले प्रश्रय पाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *