एनबी क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरु

काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) क्यापिटल लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड आपसमा गाभिई आज पुस १ एकीकृत कारोबारको घोषणा गरिएको छ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एकआपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर-एक्विजिसन) गरेमा एकमात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको ६ महिनाभित्र मर्चेन्ट बैंकिङ व्यवसायका लागि एकमात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने कानुनी व्यवस्था छ।

सोही व्यवस्थाअनुरुप संस्थाका प्रवर्द्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपश्चात गत भदौ २१ मा नबिल इन्भेस्टमेन्ट र एनबी क्यापिटलबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।

मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारणसभा गरी एक–आपसमा गाभ्ने–गाभिनेसम्बन्धी एजेन्डा पारित गरिएको थियो । विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाबाट एकीकृत कारोबारका लागि कम्पनी रजिस्ट्रारको कार्यालय निवेदन पेस गरिएको र कम्पनी रजिस्ट्रारबाट एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त भएपश्चात गत मंसिर २७ गते यस कम्पनीको सञ्चालक समितिको निर्णयबमोजिम आज पुस १ गतेका दिनदेखि एकीकृत कारोबार गर्ने निर्णयबमोजिम उक्त घोषणा सभाको आयोजना गरिएको थियो ।

घोषणासभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृतहरु तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालकहरु र नबिल इन्भेस्टमेन्टका सञ्चालकको उपस्थिति थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *