सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त, आजै शपथ

काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।

उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो।

रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले अध्ययनपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनका सम्पत्ति र सेयरलाई वैध ठहर गरेको थियो।

समितिको प्रतिवेदनपछि गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *