काठमाडौं ।नेपाल राष्ट्र बैंकले डिजिटल कर्जाको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ संशोधन गर्दै अल्पकालीन चालु पुँजी कर्जाका लागि ५ लाख रुपैयाँ र दीर्घकालीन चालु पुँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म डिजिटल कर्जा दिन सकिने व्यवस्था गरेको हो।
संशोधित व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङमार्फत आवेदन दिएपछि स्वचालित प्रणालीबाट मूल्यांकन हुनेछ र स्वीकृत कर्जा केही मिनेटमै खातामा जम्मा हुने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा धितो राख्नुपर्ने, बैंक शाखामा पुग्नुपर्ने वा कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहने छैन।
राष्ट्र बैंकका अनुसार डिजिटल कारोबारमा संलग्न लघु तथा साना व्यवसायीको वित्तीय पहुँच विस्तार गर्न तथा कर्जा प्रवाहलाई थप सहज बनाउन नयाँ व्यवस्था गरिएको हो।







