जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो

काठमाडौं। जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।

कम्पनीले जारी पुँजी संरचना निर्धारणसँगै आईपीओ निष्कासनका लागि आवश्यक सेवा प्रदायक संस्थाहरू नियुक्त गरेको जनाएको छ।

कम्पनीका अनुसार २०८२ मंसिर २२ गते सम्पन्न साधारणसभाले दुई अर्ब ५० करोड रुपैयाँ जारी पुँजी कायम गर्ने निर्णय गरेको थियो।

कुल जारी पुँजीमध्ये दुई अर्ब रुपैयाँ प्रवर्द्धक सेयरका रूपमा रहनेछ भने ५० करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आईपीओ प्रक्रिया प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित ढंगले अघि बढाउन कम्पनीले क्रेडिट रेटिङ एजेन्सीका रूपमा केयर एज रेटिङ्स लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।

त्यस्तै, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले उल्लेख गरेको छ।

जनता एग्रो एण्ड फरेस्ट्रीले कृषि तथा वन पैदावारमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको माग पूर्ति गर्ने लक्ष्यसहित व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीले ‘खेतीदेखि विक्रेता’सम्म गुणस्तरीय उत्पादन तथा आपूर्ति प्रणाली विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको बताएको छ।

कम्पनीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट प्राप्त लगानी र समर्थनले संस्थागत विकास तथा बजारमा विश्वसनीयता थप सुदृढ बनाउन सहयोग पुगेको छ।

आगामी दिनमा थप उत्तरदायी, व्यवस्थित र दीगो व्यावसायिक अभ्यासलाई अघि बढाउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *