मूल्य पारदर्शिता सप्ताहमा १० फर्म कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ ।

२८ वैशाखदेखि ३ जेठसम्म गरिएको अनुगमनमा २ सय ५ फर्म तथा पसल जाँच गरिएको थियो। कानुन उल्लंघन गर्ने फर्मबाट विभागले कुल ५ लाख ४५ हजार रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ।

जरिबानामा परेका बाहेक अन्य ४ फर्मका सम्बन्धमा थप अनुसन्धान र प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले आवश्यक कागजात माग गरी विभागले अध्ययन अघि बढाएको छ ।

अनुगमन गरिएका कुल संख्यामध्ये १ सय ९१ फर्ममा भने सामान्य प्रकृतिका त्रुटि र कमजोरी भेटिएकाले उनीहरूलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन र सुझाव दिइएको छ ।

विभागले मूल्यसूची नराख्ने, उपभोक्ताको स्वास्थ्य प्रतिकूल वस्तु बेच्ने, वस्तुको न्यूनतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा सामान बेच्ने लगायतलाई कारबाहीको दायरामा ल्याएको हो ।

बजारमा मूल्यसूची अनिवार्य राख्नुपर्ने व्यवस्था कडाइसाथ लागु गराउनु, बिलबिजक अनिवार्य प्रयोग सुनिश्चित गर्नु, वस्तुको गुणस्तर कायम राख्नु र समग्र बजार अनुशासन कायम गराउनु यस अभियानको मुख्य उद्देश्य रहेको विभागको भनाइ छ ।

विभागले सम्पूर्ण व्यवसायीलाई प्रचलित कानुन पूर्णपालना गर्न, पसलमा मूल्यसूची अनिवार्य राख्न र गुणस्तरीय वस्तु तथा सेवामात्र उपलब्ध गराउन आग्रह गरेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *