काठमाडौं । सरकारले साढे २१ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यसले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
मंगलबार (जेठ २९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ २८ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असार २५ गते परिपक्व हुनेछ ।
साथै, ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी भदौ २५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी मंसिर २५ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।