काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नविन सुरक्षण कार्यक्रमहरुमार्फत सूचना प्रविधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रविधि नीतिलाई आत्मसाथ गर्ने अभिप्रायले होटल रोयल सिङ्गीमा २ बजे देखि आयोजित उक्त कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट ई. उमेश कुमार गुप्ता, नास आईटीका प्रमुख, क्यान फेडेरेशनका विभिन्न पदाधिकारीहरु, काठमाडौं महानगरपालिका कर्मचारीहरु, बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु तथा उच्च पदस्थ कर्मचारीहरु, सुचना प्रबिधि कम्पनीका सञ्चालक तथा कर्मचारीहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरु लगायत विभिन्न मिडिया हाउसका मिडियाकर्मीहरु गरी ९० जनाको सहभागीता रहेको थियो ।
कोषका प्रबन्धक मन्दीरा थपलियाले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषका प्रमुख कार्याकारी अधिकृत रमेश घिमिरेले आइसब्रेक गर्दै कोषले प्रस्ताव गरेको सूचना प्रविधि सम्बन्धी तीन ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको मोडालिटी, कर्जा लिनेको कर्तव्य, भुक्तानी तरिका आदिको बारेमा प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।
खुला छलफलमा सहभागीहरुको तर्फबाट आएका विभिन्न टिका टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले थप प्रष्ट पारे । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका ई. उमेश कुमार गुप्ताले समग्र कार्यक्रमको सारसहित कार्यक्रम शुरुवातको पृष्ठभूमि तथा प्रतिष्ठानको जानकारीसहित कार्यक्रम नतिजामूखी हुने कुरामा विश्वास दिलाएका थिए ।
सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मनन् गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न कोष कटिबद्ध रहेको र सूचना प्रविधि कम्पनी र बैंक वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षा सहित कार्यक्रमको सन्दर्भमा पुनः छलफल गर्ने प्रतिवद्धतासहित कार्यक्रम समापन गरेका थिए ।
अर्थ सन्जाल