५० लाख ५४ हजार बढीले खोले डिम्याट खाता

धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ। आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता डिम्याट खाता हालसम्म साढे ५० लाख नाघेको छ।

हाल ५० लाख ५४ हजार बढीले डिम्याट खाता खोलिसकेका छन् । सेयर कारोबार गर्नको लागि डिम्याट अनिवार्य गरिएसँगै खाता खोल्नेको सख्या बढेको हो । डिम्याट खाता खोल्नेको संख्या महिला र पुरुषमा धेरै अन्तर छैन ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार अहिलेसम्म ५० लाख ५४ हजार ८५६ जनाले डिम्याट खाता खोल्दा २८ लाख ९९ हजार ८०२ जना पुरुष र २१ लाख ४९ हजार १६४ जना महिला रहेका छन् ।

डिम्याट खाता खोल्नेको संख्या पुरुषको तुलनामा महिलाको संख्या ७ लाख ५० हजार ६३८ ले कम छ । ३७ जना तेस्रो लिंगीले पनि डिम्याट खाता खोलेका छन् । संस्थागत रुपमा ५ हजार ९३८ वटा खाता खुलेको सिडिएससीले जानकारी गराएको छ ।

बाग्मती प्रदेशमा १९ लाख ७१ हजार ६१६ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या १० लाख ८८ हजार ९५१ जना रहेको छ भने महिलाको संख्या ८ लाख ७७ हजार ८१७ छ । यस्तै १७ जना तेस्रोलिंगी तथा ४ हजार ८३१ वटा डिम्याट खाता कम्पनीले खोलेका छन् ।

गण्डकी प्रदेशमा ६ लाख ८२ हजार ४६७ जना लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । जसमा पुरुष ३ लाख ८१ हजार १२२ जना र ३ लाख १ हजार १०२ जना महिला छन् । यस्तै ४ जना तेस्रोलिंगी र संस्थागत रुपमा २३९ जनाले डिम्याट खाता खोलेका छन् ।

सिडिएससीका अनुसार कर्णाली प्रदेशका १ लाख ११ हजार ३१० जनाले डिम्याट खाता खोलेका छन् । जसमा ७१ हजार १२० जना पुरुष र ४० हजार १७२ जना महिला छन् । यस प्रदेशमा १८ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको छ ।

लुम्बिनी प्रदेशमा खुलेका ५ लाख ५९ हजार ५६९ जनामध्ये पुरुषको संख्या ३ लाख २६ हजार ४८७ जना र महिलाको संख्या २ लाख ३२ हजार ८६६ छन् । २०८ वटा खाता संस्थागत रुपमा खोलिएका छन् भने ८ जना तेस्रो लिंगीले डिम्याट खाता खोलेका छन् ।

प्रदेश १ मा ९ लाख ४८ हजार ३९ जनाले डिम्याट खाता खोल्दा ५ लाख ३४ हजार ९५० जना पुरुष, ४ लाख १२ हजार ८०५ जना महिला र ३ जना तेस्रोलिंगी छन् । उक्त प्रदेशमा २८१ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको छ ।

प्रदेश २ मा ४ लाख ९३ हजार १५७ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुष ३ लाख १८ हजार ७७४ जना, १ लाख ७४ हजार १४६ जना महिला र १ जना तेस्रोलिंगी छन् । साथै, २३६ वटा खाता संस्थागत रुपमा खोलिएका छन् ।

सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २ लाख ८८ हजार ६९८ जनाले डिम्याट खाता खोलेका छन् । जहाँ पुरुषको संख्या १ लाख ७८ हजार ३९८ र महिलाको संख्या १ लाख १० हजार २५६ जना छ । तेस्रोलिंगीको संख्या ४ जना छन् भने संस्थागत रुपमा ४० वटा खाता खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *