काठमाडौं । २ कम्पनीको वार्षिक साधारणसभा आज जेठ २७ गते आइतबार बस्दैछ । आज युनाइटेड मोदी हाइड्रोपावर र पाँचथर पावरले साधारणसभा बोलाएका हुन् ।
युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा कालीमाटी ब्यांकेटमा बिहना ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २९ गते डाकेको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो ।
सभामा यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १:१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ ।तसर्थ, चैत ६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
पाँचथर पावरको वार्षिक साधारणसभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ सन्जाल