ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।
सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।
ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एवं सरल बैंकिङ सेवा दिने उद्देश्यले एटीएम सेवासमेत सुरु गरेको छ ।
यसका साथै बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका बडा नं. १५ बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।