काठमाडाैं । वाइवाइ चाउचाउले जारी आइसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ ।
जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइले नगद ३० लाख रूपैयाँ पुरस्कार दिने सिजी फुड्स नेपाल लिमिटेडले जनाएको छ ।
यसका साथै वाइवाइउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कार पनि घोषणा गरेको छ ।
जसमा प्रत्येक रन बनाए वापत १ हजार रूपैयाँ, प्रत्येक चौका वापत ८ हजार रूपैयाँ, प्रत्येक छक्का वापत १२ हजार रूपैयाँ, प्रत्येक विकेट वापत १५ हजार रूपैयाँ, प्रत्येक अर्धशतक वापत ५० हजार रूपैयाँ, प्रत्येक शतक वापत १ लाख रूपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो । यसका लागि सिजी फुड्स र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यो पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीको छ ।
चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्सले विगत २० वर्षदेखि नेपाली यू-१९ क्रिकेट प्रायोजन गर्दै आएको छ । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडी त्यसका लागि योग्य छन् । तैपनि उनीहरूको हौसला अझै माथि उठाउनु हाम्रो कर्तव्य हो,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’
नेपालले टी-२० विश्वकपको शृंखला अन्तरगत आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्दैछ । त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।
अर्थ सन्जाल