काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मङ्गलवार संसद्मा बजेट पेश गरेका मन्त्री पुनले बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको सुरुमै बजेट निर्माणका क्रममा मन्त्री, सचिव र अन्य कर्मचारीको दैनिकी, दबाब र अनुभव सुनाए ।
‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्मा बजेट पेश हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ’, मन्त्री पुनले भने, ‘र अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौ ।’
मन्त्री पुनले बजेट निर्माणका क्रममा हतार र दबाब दुवै झेल्नुपरेको बताए । त्यसक्रममा उनले रातभर बसेर बजेट निर्माण गरेको सुनाए ।
‘म बिहा ३ बजेसम्म यहीँ (मन्त्रालयमै) थिएँ । बिहानपख गएर एकछिन सुतेर बजेट प्रस्तुत गर्ने तयारीमा लागेको हुँ, सचिवहरु यहीँ घरबाट ल्याएको म्याट्रेसमा सुत्नुभएको रहेछ । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो ।’, उनले भने, ‘निजी क्षेत्र र प्रतिपक्षी दलको प्रतिक्रिया हेर्दा यो बजेट सन्तुलित आएछ भन्ने सुन्न पाउँदा हामी खुशी छौँ ।’
उनले बजेट बनाउन जुटेका धेरै कर्मचारीहरू मन्त्रालयमै बस्नुपर्ने अवस्था बनेको भन्दै सबैको सहयोग र शुभेच्छाका कारण बजेट तयार गर्न सफल भएकोमा आफू हर्षित रहेको बताए ।
मन्त्री पुनले बजेटका बारेमा सञ्चारमाध्यममा आएका प्रतिक्रिया सकारात्मक रहेको पनि बताए । ‘बजेटबारे मिडियामा देखिएको प्रतिक्रिया र पहिलो इम्प्रेसन सन्तुलित र आशा जगाउने खालको छ भनेर आएको छ यसमा म खुसी छु’, मन्त्री पुनको भनाइ छ ।
अर्थ सन्जाल