काठमाडौं । एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जाहरुका लागि छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकका ऋणीहरुमा समेत परेकोअसरलाई मध्यनजर गर्दै बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा छुट योजना सार्वजनिक गरेको हो।
जसअनुसार सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट दिने निर्णय गरेको हो । छुट योजना देहाय बमोजिम हुने बैंकले जनाएको छ ।
यस्तो छ भाखा नाघेको कर्जाको समयावधि साधारण ब्याज रकममा छुट प्रतिशत
१ . ९१ दिनदेखि १८० दिन – १५ प्रतिशत
२. १८१ दिनदेखि ३६५ दिन – २५ प्रतिशत
३. ३६५ दिनभन्दा बढि – ३५ प्रतिशत
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विब प्रकृति लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाका ऋणीहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनु पर्ने टड्कारो आवश्यकतालाई हरसम्भव सम्वोधन गर्दै ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकले जनाएको छ।
यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम हुने र केहि हदसम्म भए पनि मद्दत पुग्ने विस्वास बैंकको छ। साथै यस योजनाबाट देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो विकासमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
अर्थ सन्जाल