


काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको १० महिनामा नेपालको भुक्तान गर्न बाँकी ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रुपैयाँ ऋण थपिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो।
चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ ।
गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँबराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) को २०.७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशत बराबर हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कुल २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबराबर ऋण उठाउँदा १ खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँबराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण १ खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँबराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँबराबर भुक्तानी भएको छ ।
गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ३ खर्ब ३० अर्ब रुपैयाँबराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा २ खर्ब २२ अर्ब रुपैयाँबराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७०.५७ प्रतिशत बराबर हो । रासस

अर्थ सन्जाल