काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।
प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।
पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए ।
विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अरु ५ जनाले भने सफाइ पाएका थिए ।
अर्थ सन्जाल