काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणकाे विषयमा अपब्याख्या गरिएकाे बताएका छन् । उनले झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा फाैजदारी कसुरमा पक्राउ गरिएकाे व्यक्तिलाई पत्रकारितासँग जाेडेर ‘मिसइन्टरप्रेटेसन’ गरिएकाे बताए । उनले भने- याे ‘ह्यु एण्ड क्राई’(रुवाबासी) गर्नुपर्ने विषय हाेइन।
‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि! त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर!,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो..।’
उनले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एक जना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए।
‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए । सही भयाे या गलत म त्यता जान चाहन्नँ’, ओलीले प्रश्न गरे, ‘टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ !’ उनले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो ? भन्दै प्रतिप्रश्न पनि गरे।
‘के लेखेको आरोप उनीमाथि लागेको छ ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उनले भने।
देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो।
नागरिकता सम्बन्धी अभियोगमा उनलाई प्रहरीले कान्तिपुरकाे मुख्य कार्यालयबाटै गिरफ्तार गरेको थियाे। मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार तीन दिनको म्याद थप गरी धनुषा प्रहरी हिरासतमा राखिएको छ।
अर्थ सन्जाल