


काठमाडौं । बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यी दुबै कम्पनीको खुद नाफा घटेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल बालाजुले रू. ५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८६ दशमलव २४ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४३ करोड ५४ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ८ अर्ब २१ करोड रहेकोमा चालू आवमा घटेर रू. ७ अर्ब १८ करोडमा झरेको छ ।
चालू आवमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँ सीमित भएको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी रू. १९ करोड ४८ लाख रहेको यस कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू.५ अर्ब ७० करोड ९८ लाख सञ्चित गरेको छ । त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई) लिमिटेडले रू. २६ करोड १४ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ५८ प्रतिशत कम हो । गत आवकोे सोही अवधिमा कम्पनीले रू. ३६ करोड १० लाख खुद नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको सञ्चालन आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ५ अर्ब ९९ करोड रहेकोमा चालू आवमा घटेर रू. ५ अर्ब ८१ करोडमा सिमित भएको छ ।
कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँ सीमित भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ रहेको छ । चुक्ता पूँजी रू. १२ करोड १० लाख रहेको यस कम्पनीको जगेडा कोषमा रू.३ अर्ब ९८ करोड ८९ लाख सञ्चित छ ।

अर्थ सन्जाल