


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले खर्चको आवश्यकता बढेको तर त्यसअनुसार बजेट निर्माणका लागि स्रोत नभएको बताएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयका अधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना, संसदीय समितिका विषयगत समितिका सभापतिहरूले बुधबार अर्थमन्त्री पुनलाई बोलाएर छलफल गरेका थिए ।
सिंहदरवारमा भएको छलफलमा सभामुख घिमिरेसहितका अधिकारीहरूले संसद् सचिवालयका लागि आवश्यक बजेट विनियोजन नहुँदा समस्या भएको बताएका थिए । जवाफमा अर्थमन्त्री पुनले संसद् सचिवालयका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने बताए ।
अर्थमन्त्री पुनका अनुसार १८ खर्बको सिलिङमा बजेट निर्माण भइराखेको छ । बजेट सिलिङ अनुसार न्यूनतम दायित्वमा बजेट थपघट गर्न सकिने र यसका लागि सिलिङ र स्रोत मिलाइने उनको भनाइ छ ।
‘स्रोत कमी भएर नै समस्या भएको छ’ अर्थमन्त्री पुनले भनेका छन् । नयाँ सवारी नकिन्ने, वैदेशिक भ्रमणमा कम गर्ने जस्ता नीतिले आर्थिक वृद्धिदर चार प्रतिशत वरिपरि हुने देखिएको उल्लेख गर्दै अर्को वर्ष थप आर्थिक वृद्धिका लागि काम गर्नुपर्ने दबाबमा पनि सरकार रहेको बताए ।
सङ्घीय संसद् सचिवालयका अधिकारीहरूले कर्मचारीले अतिरिक्त काम गरेबापत भत्ता नपाएको बताएका थिए । अर्थ मन्त्रालयले इलेकट्रोनिक्स हाजिरी भएको अवस्थामा अतिरिक्त काम गर्नेहरूलाई थप सुविधा दिन सकिने बताएको छ ।

अर्थ सन्जाल