काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको विवरणमा खुलाइएको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ। उनको यो बचत प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन्।
अर्थ सन्जाल