काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७.५४ अंक बढेर २०९२.०० विन्दुमा पुगेको छ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।
आज ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।
यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको करिब १९ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ।
अर्थ सन्जाल