मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा

काठमाडाैं ।  मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा बृद्धिका लागि गरेका योगदानको चर्चा गरिएको थियो ।

संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए ।

वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं.–७, (साविक खिलुङ गा.वि.स.वडा नं.–२) स्याङ्गजामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मिएका उनी करिब २३ वर्ष शिक्षण पेशामा संलग्न थिए भने समाज सेवामा पनि सक्रिय थिए ।

उनी स्याङ्गजा जिल्लाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने ब्यक्तिको रुपमा चिनिन्थे । आफ्नो जीवनको सम्पूर्ण समय समाज र जनताको हकहितमा बिताउनु भएका उनी स्वच्छ छबी भएका सामाजिक ब्यक्तिको रुपमा लोकप्रिय थिए । उनको मंगलबार साँझ स्याङ्गजाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *