दमक । गत बैशाख १८ गते ओमकार टाइम्सले झापाको गौरिगञ्ज गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्षले गैरकानुनी रुपमा विवाहित हुन् भनेर जान्दा जान्दै सोही वडाका ४ जनालाई अविवाहित भएको भनेर सिफारिस दिएको समाचार प्रकाशित गरेको थियो । हेर्दा सामान्य देखिने उक्त गैरकानुनी सिफारिस काण्डमा लाखौंको चलखेल भएको श्रोतको दाबी छ ।
उक्त वडाका वडाध्यक्ष कार्तिकलाल राजवंशीले उनको अघिल्लो कार्यकालमा २०७७ साल कात्तिक २१ गते एकापरिवारको ओजाहाङग लिम्बू को नाति मेख बहादुर लिम्बूको छोरा बर्ष ४७ को दिल प्रसाद लिम्बू , बर्ष ५३ को देव कुमार लिम्बू , बर्ष ५२ कि फिपरानी लिम्बू र ४३ को गंगा प्रसाद लिम्बूहरुलाई अविवाहित हुन् भनेर सिफारिस दिएका थिए । उनले उक्त सिफारिस जानीजानी वैदेशिक रोजगारीका लागि सजिलो होस् भनेर दिएको सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै स्वीकार समेत गरेका छन् ।
देव कुमार लिम्बू परिवारका जेठा छोरा हुन् भने उनको पहिलो श्रीमतीबाट १ छोरी छिन् र दोश्रो श्रीमतीबाट १ छोरा जन्मिएको श्रोतको दावी छ । त्यस्तै, महिलो छोरा दिल प्रसाद लिम्बूको पनि दुइवटा नानी छन् भने कान्छो छोरा गंगा प्रसादको श्रीमतीको नाम सरु हो र उनिहरुको पनि दुईवटा छोरा भएको श्रोतले जनायो । फिपरानी लिम्बू पनि विवाहित हुन् र उनको श्रीमानको नाम दुर्गा कुमार रहेको श्रोतले जानकारी दियो ।
अझ रोचक कुरा त के छ भने सामान्यतया यस्तो प्रकृतिका सिफारिस दिदा छिमेकीलाई सरजमिन गराएर निवेदन कर्ताले निवेदनमा उल्लेख गरेको कुरा साचो हो , हैन बुझेर मात्र दिने गरिन्छ तर राजवंशीले जुन दिन निवेदन परेको थियो सोही दिन हतारमा कानुनी प्रक्रिया पूरा नगरि निवेदकले मागे अनुसारको सिफारिस दिनुले समेत आर्थिक चलखेल भएको आशंका गर्ने ठाउँ छ भने वडाध्यक्ष राजवंशीले वैदेशिक रोजगारीको लागि दिएको भनेर जिकिर गरेता पनि दिल प्रसाद लिम्बूले सिफारिस लिएको तीन महिना पछि अर्थात २०७७ साल माघ ९ गते मात्र पासपोर्ट बनाएको पाइएको छ।यो तथ्यले वडाध्यक्षले बोलेको कुरा झुट हो भनेर आफै प्रमाणित गर्दछ ।
लिम्बूहरु चार जना नै ब्रिटिस लाहुरे परिवारमा जन्मिएका हुन् । उनिहरुलाई बेलायतको आवासीय भिसाका लागि उक्त सिफारिस चाहिएको थियो भने भिसा उपलब्ध गराउने जिम्मेवारी बेलयतमा रहेका राजु थापा , काठमाडौं घर भई हाल बेलयत बस्ने दिपक मास्के र ललितपुर सातदोबाटो बस्ने समी काछी रोजी श्रेष्ठले लिएका छन् ।
निजहरुले लामो समयदेखि बेलायती भूपू सैनिकका परिवारलाई आवासीय भिसा उपलब्ध गराउन सहयोग गर्ने भन्दै करोडौं रुपैयाँ ठगि गरेको आरोपमा अदालतमा मुद्दा परि पक्राउ पुर्जी समेत जारी भएको छ ।
यसरी नेपाल र बेलायतमा बस्ने ठगहरुसंग साँठगाँठ गरि किर्ते सिफारिस लिदा दिदा समेत आर्थिक चलखेल भएन भन्दा सम्बन्धित निकायले पत्याएर मौन बस्नु आफैमा शंकास्पद देखिन्छ । बिचौलिया ठगहरुले प्रतिव्यक्ति लाखौं रुपैयाँ उठाउदा वडाध्यक्षको हातमा चाहिँ एक रुपैयाँ पनि परेन होला र ? प्रश्न आफैमा गम्भीर छ ।
प्रहरीद्वारा जाहेरी लिन अस्वीकार
यसै विषयमा जाहेरी दिनको लागि ईलाका प्रहरी कार्यालयमा गत बैशाख ४ गते एक समूह पुगेको थियो । तर उक्त कार्यालयका प्रमुख अनिस बुढाथोकीले जाहेरी लिन मानेन् । उक्त जाहेरी आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै अख्तियार जान सुझाव दिएका थिए । तर झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने प्रहरीले उक्त जाहेरी दर्ता गरि कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । सरकारी कागजात किर्ते सम्बन्धि जाहेरी प्रहरीले पनि लिन मिल्ने प्रजिअ बास्तोलाको दाबी छ ।
अर्थ सन्जाल