काठमाडौँ । पहिलाे दिनकाे बयानपछि ‘सिधाकुरा’ अनलाइन तथा युट्युब च्यानललाई न्यायाधीश र मिडिया सञ्चालकले भ्रष्टाचार गरेको भनेर अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई सर्वोच्च अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनाले आफूहरुलाई अडियाे उपलब्ध गराएकाे बताएका थिए ।
सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो ।
आइतबार तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिइएको हो । उनको बयान सोमबार पनि निरन्तर रहने आदेशमा उल्लेख छ ।
सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई पनि सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिइएको छ ।
अर्थ सन्जाल