काठमाडौं । आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४)को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराउने भएको छ ।
सो अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागू हुनेछ । यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डेटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डेटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ । आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइल बाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’ प्रयोग गरी प्याकेजहरु खरिद गर्न सकिने छ ।
अर्थ सन्जाल