काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । लिम्बूले जम्मा ५०५० मत प्राप्त गरेका छन् जसको कारण उनको जमानत जफत भएको । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ।
यस क्षेत्रमा लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको छ। इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन्।
इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसै गरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्।
कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदवारले सय भन्दा कम मत प्राप्त गरेका छन्। कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो। जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ।
अर्थ सन्जाल