काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ३६ लाख रुपैयाँ थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो।
संस्थाको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेर ८७ करोड ८२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८२ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको थियो ।
सो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा संस्थाले ६ करोड २७ लाख रुपैयाँ मात्र सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। यसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।
तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरण योग्य मनुाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ४२ रुपैयाँ ७८ पैसा रहेको छ।
यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ।