तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्दै सहिदलखन गाउँपालिकाका महिलाहरु

गोरखा । सहिद लखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले व्यावसायिक सीपमूलक तालिमबाट सिकेर सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेका छन् ।

“नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले भनिन् , “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”

उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उनको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।

“भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भनिन् , “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उनको भनाइ छ ।

“फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उनी भन्छिन् , “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उनको भनाइ छ ।

प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिईन् ।

उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उनको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पुर्याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भनिन् , “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”

उत्पादित प्याड परीक्षणका लागि बजारमा रु ५० प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट रु ७० मा बिक्री हुँदै आएको छ”, परियारले भनिन् ।

उद्योग सञ्चालनका लागि अहिलेसम्म रु १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नं ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताए । उनका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *