रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयात बढ्न थालेको हो ।
दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।
नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता गरिसकेको उनले बताए ।
कोरोना सङ्क्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत बनेका छन् । दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०÷६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने जनाएको छ ।
विसं २०७२ को मङ्सिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमण पश्चात पहिलो चरणमा तीन दोस्रोमा छ तेस्रोमा नौ वटाहुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठुला १४ कन्टेनरमार्फत चिनियाँ सामग्री रसुवागढी आउन थालेको हो ।
चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामोहुने र रसुवागढीको मार्ग छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जनाए ।
व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि रहेको जनाएका छन् ।
नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म भन्सार शुल्कबापत रू पाँच अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।







