काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट आजदेखि चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात गरिएको छ । एक समारोहका बिच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुरुवात गरेका हुन् ।
सो क्रममा उद्योग मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो औँल्याए ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ ।







