काठमाडौं । मार्च महिनामा विभिन्न देशबाट १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १६७ पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो ।
गत महिनामा ७९ हजार ४२६ जना पर्यटक भित्रिएका थिए । विशेष गरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् ।
चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ ।
बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत धेरै हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए ।
तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।
यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् । यस अनुसार औसतः मासिक १ लाखभन्दा बढी पर्यटक भित्रिएको देखिएको छ ।
अर्थ सन्जाल