काठमाडौं । सरकारले हालसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको सिफारिसमा सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारी संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरेको हो ।
मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको संख्या २० पुगेको छ ।
मन्त्रालयले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही सहकारी ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने गरेको छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा समस्यै समस्या देखिरहेका छन् । सहकारीले पैसा खाएर भागेको, बचतकर्ताको निक्षेप फिर्ता नगरेको, बढी ब्याजको लोभ देखाएर बचत रकम नै गायब गरेका जस्ता उजुरी दिनहुँ सहकारी विभागमा उजुरीको चाङ लाग्ने गरेको छ ।
चालु आर्थिक वर्षमा मात्रै सरकारले ८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी ,नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय, तुलसी बहुमुखी सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिटको अपरेटिभ सहकारीलाई सरकारले चालु आर्थिक वर्ष समस्याग्रस्तको सूचीमा राखेको हो ।
मन्त्रालयले सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउने गरेको छ ।
यी हुन् समस्याग्रस्त २० सहकारी
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म कुबेर बचत तथा ऋण सहकारी, स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेण्टल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।
यस्तै, हालसम्म कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्धेशिय सहकारी, हाम्रो नयाँ कृषी सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरिसकेको छ । यी सहकारीको कुल ५ अर्ब बढी बचत रकम रहेको छ ।
सहकारी स्वनियमन र सुशासनमा चल्नुपर्ने संस्था हुन् । सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा हुँदा ठगी बढ्दा उनीहरू उनुत्पादक क्षेत्रमा लगानी गर्न लालायित भइरहेका छन् । फलस्वरूप सहकारीहरू समस्या पर्ने गरेका छन् । ऋण तथा बचत सहकारीमा बढी समस्या देखिएको छ । नियमन र सुशासनको अवस्था कमजोर भएरै कतिपय सहकारीमा समस्या देखिने गरेको छ ।
अर्थ सन्जाल