काठमाडौं । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्।
कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बर्दियाको बाँसगढी- ४ घर भइ हाल कोहलपुर- १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेको जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले बताए।
घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। घटना अनुसन्धानकै क्रम रहेको प्रहरीको भनाइ छ।
श्रीमतीले लुकाएर राखेकाे रकम खर्च गरिदिएको र सोही विषयलाई लिएर विवाद हुँदा आफूले हत्या गरेको उनले स्वीकारेका छन्।
उनीहरूको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ। सुनारको माइत जाजरकोट हो।
डेरामा उनीहरू दुईजना मात्रै बस्दै आएका थिए। राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेका थिए। गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याएको डाँगीले बताए। अस्पतालमा उपचारको क्रममा सुशिलाको मृत्यु भएको हो।
अनिल कोहलपुर- १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन्।
उनीहरूको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ।