


काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
२० अर्ब ७१ करोड जसमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । त्यस्तै, ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
मंगलबार चैत १३ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार १२ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि ६० करोर्ड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज ८ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ११ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

अर्थ सन्जाल