काठमाडौं। रङको पर्व होली आज पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। ऋतुहरूको राजा, वसन्त याम। वसन्त यामको आगमनसँगै होली पर्व मनाइन्छ। यो सप्तरंगी उत्सवले प्रकृति र जीवनलाई अरु एकाकार बनाइदिन्छ।
सत्य र निष्ठाको कथासँगै जोडेर यसले जीवनलाई सप्तरंगी बनाइरहनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ। त्यसैले मानिसहरू होली उत्सवमा झुम्ने गरेका हुन्छन्। तर, रमाइलोका लागि होली खेल्दा स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्छ।
होलीको रङले छालाको स्वास्थ्यमा असर पार्ने भएकाले यसको प्रयोग गर्दा सचेत रहनुपर्छ। चिकित्सकहरूले होलीमा रङ दल्नुअघि छालाको सुरक्षामा ध्यान नदिन आग्रह गरेका छन्।
विगतका वर्षमा होली खेल्दा अनुहारको छाला, आँखा, नाक, कानमा रङको असर तथा शरीरका विभिन्न अंगसम्म असर पुगेर मानिस अस्पतालसम्मै पुग्ने गरेकाले होली खेल्ला विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।
होलीका रंगमा मिसिएका रसायनिक तत्वले छाला, आँखामा समस्या ल्याउने र श्वासप्रश्वासमा पनि असर गर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
कालोमा (लिड अक्साइड), हरियोमा (कपर सल्फेट), सिल्भरमा (अल्मुनियम ब्रोमाइड), निलोमा (प्रसियन ब्लु), रातोमा मर्करी सल्फेटजस्ता रसायनिक तत्वहरू पाइन्छन्। जसले स्वास्थ्यमा असर गर्न सक्छ। आँखामा एलर्जी हुने, आँखा सुन्निने, पोल्ने, छालामा बिमिरा आउने तथा रातो हुने, छाला सुख्खा हुने, श्वासप्रश्वासमा समस्या ल्याउने र अलि बढी हानिकारक रसायनले त छालाको क्यान्सरसमेत हुने अध्ययनले देखाएको छ।
छालारोग विशेषज्ञ डा. रुपक घिमिरे होलीका बेला छालालाई अलि बढी नै असर गर्ने हुँदा केही कुरामा सावधानी अपनाउन सुझाव दिन्छन्। छालामा रंग लगाउँदा छाला डढ्ने, रंगको एलर्जी हुने, छाला सुख्खा हुने, पर्पराउने, खस्रो हुने समस्या देखिन सक्ने उनलेब ताए।
कपालमा रंग परेमा टाउको चिलाउने समस्या हुने सक्ने चिकित्सकहरूको भनाइ छ। रंगमा हानिकारिक रसायनिक तत्व हुने भएकाले यसले छालालाई सुख्खा बनाउँछ। र, एलर्जीको जोखिमसमेत रहन्छ।
रंग खेल्न जानुअघि अनुहार तथा देखिने भाग हातहरूमा मोस्चराइजर लगाउन चिकित्सकहरूको सुझाव छ। कपाल र हात खुट्टामा नरिवलको तेल लगाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
होलीको रंग आँखामा पर्दा पनि यसले दृष्टि समेत गुम्न सक्ने चिकित्सकहरू बताउँछन्। यसका साथै होलीमा लोला हान्ने चलन छ। लोला हान्दा आँखामा रंग पर्ने सम्भावना हुन्छ। बेसरी लोला हान्दा आँखा फुटेर आएका घटनाहरू रहेको चिकित्सकहरूले बताएका छन्।
सकभर आँखामा रङ नपर्ने गरी होली खेल्नु पर्छ। रंग परिहालेमा सफा पानीले माजाले आँखा सफा गर्नुपर्छ। आँखा धुँदा पनि आँखा रातो भएमा आँसु आइरहने भएमा तुरुन्त नजिकैको अस्पतालमा जानुपर्छ। कन्ट्याक्ट लेन्स लगाएका व्यक्तिहरूले एकदम ध्यान दिनुपर्छ। परिहालेको खण्डमा तुरुन्त लेन्स निकालेर आँखा धोइहाल्नुपर्छ।
अर्थ सन्जाल