


काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमतीसहितका कोशी र मधेस प्रदेशका केही भूभागमा वर्षा भइरहे पनि काठमाडौंको मौसम भने धुम्म देखिएको छ।
पछिल्लो चौबीस घण्टामा सिरहामा अधिक पानी परेको छ। सप्तरी र सिरहाको सीमामा पर्ने चुरेमाई क्षेत्रमा पछिल्लो २४ घन्टामा २९.८ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।
बागमतीको सिन्धुली, मकवापनपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने अपराह्नपख मात्रै वर्षाको सम्भावना छ।
पश्चिमतर्फ भने मौसम खुलेको छ। पश्चिमका पहाडी भूभागमा बदली देखिए पनि त्यहाँको तराईको भूभागमा भने मौसम सफा छ।
कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

अर्थ सन्जाल