क्यानडाले नेपाल ‘ए’ लाई दियाे २४१ रनकाे लक्ष्य

काठमाडौं। क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।

पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।

हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४-४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।

कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *