काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । बिहीबार टियु क्रिकेट मैदानमा नामिबियाले विजयी सुरुवात गर्ने क्रममा ४ विकेटको जित निकालेको हो ।
नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।
नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हाने । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हाने ।
ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेलले पनि एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।
२०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१.१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो ।
यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो ।
नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।
२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो ।
समग्रमा यो नेपालको सातौं कम योगफल हो ।







