काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ ।
स्वदेशी साना लगानीकर्तालाई विद्युतमा लगानी प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा अघिल्लो साता बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो ।
१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरूको विद्युत् सुक्खायाम (१६ मङ्सिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मङ्सिर)का लागि हाल कायम रहेको दर क्रमशः: रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरूको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा उत्पादन सम्मिश्रणका आधामा तय गरिएको पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए ।
‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको पीपीए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरूलाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पीपीए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘अब ग्रिड आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको पीपीए जति र जहिले पनि गर्ने छौँ ।’
१० मेगावाटसम्मका ८९ वटा आयोजनाहरूले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरूको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेको छ ।
दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो ।
आरओआर आयोजनाहरूका लागि तय गरिएको अर्थात् ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजनाहरू आरओआर छन् । प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पीपीए गरिसकेको छ ।
अर्थ सन्जाल