काठमाडौं । एनआईसी एशिया बैंकले शाखा बन्द गर्न लागेको विषयप्रति आपत्ति जनाएको छ । बैंकले एक विज्ञप्ति सार्वजनिक गर्दै केही दिन अघि आफ्ना ५० भन्दा बढी स्थानको शाखा एकैसाथ बन्द गर्न लागेको समाचारको खण्डन गरेको हो।
एनआईसी एशिया बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा ‘बैंकले एकैसाथ ५० वटा शाखा कार्यालयहरू बन्द गर्न लागेको’ समाचार प्रकाशित भएको थियो। उक्त समाचार कपोकल्पित भएको भन्दै बैंकले ध्यानाकर्षण गराएको छ ।
हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको पनि बैंकले जनाएको छ ।
बैंकले आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको भनेको छ ।
तर नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकले आफ्नो विभिन्न स्थानका ८६ वटा भन्दा बढी शाखा बन्द गर्नका लागि निवेदन दिएको र यस उपर अनुसन्धान भईरहेको जनाएको छ।
त्यस्तै, बैंककै एक कर्मचारी पनि एक वर्ष अघि नै शाखा बन्द गर्नका लागि राष्ट्र बैंकमा निवेदन दिएको बताउँछन् । पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको समस्याका कारण देखाउँदै बैंकले एक बर्ष अघि देखि नै शाखा बन्द गर्न निवेदन दिएको ती कर्मचारीले बताए । उनी भन्छन् ,- बैंकले शाखा बन्द गरिपाउँ भनी एक साल अघि नै निवेदन दिएको हो तर समाचार बल्ल आयो, यो नयाँ बिषय हैन ।’
‘हाम्रो बैंक कुनै पनि बैंकको सेवा नपुगेको स्थानमा पनि थियो, अहिले तिनै स्थानको साखा बन्द गर्न समेत लागेको छ जहाँ अझै बैन्किङ् सेवा पुगेकै छैन । जसका कारण पनि रास्ट्र बैंकले छानबिन गरिरहेको हुन सक्छ ।’ उनले भने
त्यसो त बैंकले साखा बन्द गर्न लागेको भन्ने विषयलाई एनआईसीकै ती कर्मचारीको भनाईले नै प्रष्ट पारिदिएको छ।
वाणिज्य बैंकहरूमध्ये आफुलाई सबैभन्दा अब्बल देखाउन यस बैंकले आक्रामक रूपमा धेरै स्थानमा शाखा सञ्जाल बिस्तार गरेको थियो। बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकहरूमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।