


काठमाडौं । लोकसेवा आयोगप्रति पछिल्लो समय युवा आकर्षण बढ्दो रहेको छ। देशमा अन्य क्षेत्रमा खासै रोजगारीको अवसर नभएपछि युवाहरूको पहिलो रोजाइ लोकसेवा वा विदेश बन्ने गरेको छ।
लोकसेवाले शनिबार लिएको परीक्षामा सहभागी युवालाई हेर्ने हो भने पनि उक्त आकर्षण प्रस्ट हुन्छ। राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा शनिबार झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन्।
खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन आह्वान गरेको थियो। सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ शनिबार सम्पन्न भएको छ।
शाखा अधिकृतका २७३ पदका २३ हजार ७११ जनाको आवेदन परेको थियो। तीमध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका छन्।
परीक्षामा ८८.६८ प्रतिशत परिक्षार्थी सहभागी भएका लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए। आयोगले देशभरका १४ कार्यालयबाट शनिबार १०० पूर्णाङ्कको प्रारम्भिक परीक्षा सञ्चालन गरेकोमा काठमाडौं केन्द्रबाट सबैभन्दा धेरै १० हजार ८८६ आवदेकमध्ये ९ हजार ८७१ परीक्षार्थी सहभागी भए। यो उपस्थिति करिब ९१ प्रतिशत हो।
काठमाडौं उपत्यका बाहिरका १३ कार्यालयबाट १२ हजार ८७७ जनाले आवेदन फारम भरेकोमा ११ हजार १५६ जना प्रारम्भिक परीक्षामा सहभागी भएका छन्।
विद्यार्थी संख्याको आधारमा जुम्ला परीक्षा केन्द्रबाट सबैभन्दा कम ९५ आवेदकमध्ये ८२ जना सहभागी भएका छन्। परीक्षा केन्द्रको हिसाबमा सबैभन्दा बढी काठमाडौंको शान्ति विद्यागृहको ‘क’ केन्द्रमा २०० मध्ये १९२ जना अर्थात् ९६ प्रतिशत परीक्षाथीहरुले पहिलो चरणको परीक्षा दिएका छन्।
‘लोकसेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ। त्यसैले आयोगप्रति जनताको विश्वास र आकर्षण बढ्दो छ। यहाँ भनसुन लाग्दैन। योग्य व्यक्ति आफूलाई अब्बल सावित गर्दै छनोट भएर आउने हो’, उनले भने।
उनले लोकसेवाप्रतिको यो विश्वासलाई गुम्न नदिन आफू हरदम प्रयासरत रहने बताएका छन्। सरकारी सेवाप्रति आम नागरिकको आकर्षण बढ्नु सुखद कुरा भएको उनले बताए।

अर्थ सन्जाल