काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोकेको थियो । नेपालले उक्त लक्ष्य १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
अब नेपालले मंगलबार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्नेछ । आज अर्को खेलमा हङकङ र माल्दिभ्स खेल्दैछन् । उक्त खेलमा हङकङ विजयी भए नेपाल क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
भुटानविरुद्ध नेपालको जितमा सीता राना मगरले नटआउट ३२ रन जोड्दै नेपाललाई जितसम्म डोर्याइन् । उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । रुविना क्षेत्रीले २४ बलमा १-१ चौका र छक्कासहित नटआउट १७ रनको योगदान दिइन् ।
त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएका थिए । कवितालाई अन्जु गुरुङ र इन्दुलाई अन्जली घलेले आउट गरेका थिए ।
भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिइन् । नेपालबाट कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले १-१ विकेट लिएका थिए ।
समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
अर्थ सन्जाल