काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका हुन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् ।
अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।
विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजी चन्द असन्तुष्ट थिए । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।
चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन ।
अर्थ सन्जाल