संकटउन्मुख बन्दै एनआइसी एसिया बैंक : एकै पटक ५० शाखा बन्द गर्दै, बैंकको लगानी उच्च जोखिममा

काठमाडौं । बजारमा व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया बैंक खस्कँदै गएपछि शाखा बन्द गर्ने अवस्थामा पुगेको छ । बैंकको केही शाखा निरन्तर घाटामा गएपछि बन्द गर्न भन्दै नियामक निकाय राष्ट्र बैंकमा निवेदन दिएको छ ।

बैंकले एकै पटक ५० शाखा तथा एक दर्जन एक्सटेन्सन काउन्टर बन्द गर्न राष्ट्र बैंकलाई निवेदन समेत दिइसकेको छ । बैंकले शाखा बन्द गर्न चाहँदैमा तत्काल शाखा बन्द गरिहाल्न भने पाउँदैन । एकै पटक यति धेरै शाखा बन्द गर्न नपाउने राष्ट्र बैंक स्रोत बताउँछ । राष्ट्र बैंकले अनुसन्धान गरेर मात्र बन्द गर्ने नगर्ने निर्णय हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन ।

एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् । सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी छ ।

कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने एनआईसी एशिया बैंकको छवी बिग्रदो गतिमा छ । अधिकांश वित्तीय परिसूचक समेत ओरालो लाग्न थालेको छ । ऋण उठाउन नसक्दा बैंकको खराब कर्जामा समेत वृद्धि भएको पछिल्लो वित्तीय विवरणले देखाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको खराब कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय रिपोर्टले देखाएको छ । खराब कर्जा बढ्नुले बैंकले गरेको लगानी उच्च जोखिममा रहेको पुष्टि गर्छ ।

वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ ।

बैंकको खुद नाफा पनि ४१.८४ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।

आवासीय कर्जामा अस्वाभाविक वृद्धि

बैंकले तोकिएको प्राथमिक पुँजी कोष मिलाउन र लाभांश वितरणको कारबाहीबाट बच्न आवासीय लगानीमा अस्वाभाविक कर्जा वृद्धि गरेर रिपोर्ट सार्वजनिक गरेको पाइएको छ । २०८० असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको ‘वासल–३’ अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो । तर ६ महिना नबित्दै बैंकले २०८० पुसमा सार्वजनिक गरेको वासल–३ अनुसारको रिपोर्टमा यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रुपैयाँ पुगेको देखाएको छ ।

यही अस्वाभाविक लगानी वृद्धिलाई लिएर राष्ट्र बैंकले बैंकमाथि अनुसन्धान समेत गर्ने भएको छ ।

आवासीय क्षेत्रमा प्रवाहित कर्जामा जोखिम भार कम राख्न सकिने हुँदा बैंकले यस्तो चलाखी गरेको हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको व्यवस्था अनुसार हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत मात्र रहेको छ । व्यावसायिक घरजग्गा, रियल स्टेट, तथा सेयर धितो कर्जामा ५० लाख रुपैयाँसम्म १२५ प्रतिशत जोखिमभारको व्यवस्था छ । सोभन्दा माथिको कर्जामा १५० प्रतिशतकै जोखिमभार कायम गर्नुपर्ने हुन्छ । यसैले पनि बैंकहरु आवासीय कर्जामा बढी केन्द्रित भएको हुनसक्छ ।

तर एनआईसी एसिया बैंकले असारदेखि पुस मसान्तसम्म ६ महिनामा नै आवासीय कर्जामा ७९ अर्ब रूपैयाँले कर्जा वृद्धि भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *