


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो ।
गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ ।
यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार विस्तृत मुद्राप्रदाय छ दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन छ दशमलव छ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमललव नौ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ ।
मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्कमासमेत क्रमशः कमी आइरहेको देखिएको छ । “वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मकरुपमा कम दबाब पर्न गएको छ”, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत,१.०४ प्रतिशत र शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने ३५.६० प्रतिशतले बढेको छ ।
त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलपूmलको १०.१५ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।
गत पुस महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत छ । यो अवधिमा तराईको मूल्यवृद्धि ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत छ ।
चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तुको १.९९ प्रतिशत र पुँजीगत वस्तु २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।
यो अवधिमा आयात ३.०१, निर्यात सात दशमलव दुई प्रतिशत र कूल वस्तु व्यापार घाटा २.०६ प्रतिशतले घटेको छ ।

अर्थ सन्जाल