यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो।
आज पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । ७ गतेसम्म भाडा समायोजन नभए व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी दिएका हुन् ।
व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३ ट्रक पहाड को ११.८२ र ट्रक तराईको १३.१३ प्रतिशत लागत वृद्धि भएको छ ।
पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो ।