


काठमाडौं । नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटेल सञ्चालकहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरू समस्यामा परेको बताएका छन् । उक्त होटेल सञ्चालकहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तर्राष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताए ।
छलफलमा उनीहरुले अन्तर्राष्ट्रिय होटेल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भनेर उनीहरूको उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताएका थिए । अहिले फिटामा भएको नियामक व्यवस्था र होटेल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरु ल्याउन ठुलो समस्या सिर्जना गरेको बताएका छन् ।
अहिले नेपालमा रहेका अन्तर्राष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समीक्षा गरी सुरु भएको र ती होटलहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यको तर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन् ।
फिटामा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरै जसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदि उक्त व्यवस्था रहिरहे नेपालमा सञ्चालित विदेशी चेन समेत बाहिरिने सम्म अवस्थामा पुग्ने उनीहरूको चिन्ता थियो ।

अर्थ सन्जाल